माया त सबैले गर्लान्,
आमाले बालाई,
आमाले सन्तानलाई,
सन्तानले बा आमालाई।
तर, किन देखिँदैन?
बाले आमालाई गर्ने माया?
आफू आफैँलाई मेटाएर
बाले सन्तानलाई गर्ने माया?
आकार फरक होला,
प्रकार भिन्न होला,
तरिका नि होला छुट्टै,
ठूलाले सानालाई गर्ने माया।
यो भन्दैमा,
मिल्छ र नजरअन्दाज गर्न?
सकिन्छ के भुलिदिन?
खेल्दाखेल्दैको गुडिया छोडेर,
सानाले ठूलालाई गरेको माया?
व्यक्ति पिच्छेका परिभाषा,
मन अनुसारका अनुभव,
मायाकै मायामा मोहित भएर,
संसार त मायामै अडेको भनिदिन्छ कोही,
तर,
देख्दैन परिवार भित्रैको लुछाचुँडी,
छिमेक छिमेकको काटमार,
सोच्दैन एकछिन रोकिएर,
संसारमा माया बस्यो कि बसेन ?
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल
