जरुर साथी! म एक्लो,
यहाँ एक्लो छ सूर्य,
एक्लो छ चन्द्र
अनि एक्ली छिन् धरा।
र पनि
पोतिएकै छ न्यानो उज्यालो,
फिँजिएकै छ सुरम्य शीतल,
र थेगिएकै छ सारा सृष्टि |
म सूर्य जस्तै तातो नहुँला,
नहुँला चन्द्रमा झैँ शीतल
अचल नहौँला धरासरि |
तर,
जोस छ मेरो पाखुरामा,
पाउ भरिएका छन् हिम्मतले,
उर्वर छ यो मष्तिष्क पनि।
जरुर साथी! म एक्लो,
एक्लै हो जन्मिएको,
हुँदैन साथी मृत्युमा कोही,
एक्लै गर्ने हो संघर्ष पनि |
र त
म नायक हुँ मेरो जीवनको,
एक्लै बन्नु छ सबै पात्रहरू,
र रङ्गाउनु छ मेरो रङ्गमञ्च।
जरुर साथी! म एक्लो,
म एक्लै देख्छु सपनाहरू,
उर्लिएका आवेगहरू,
छटपटी र तनावहरू |
बन्नु छैन,
सबैले देख्ने विपना,
निश्चल, शान्त र गम्भीर,
र तिमी जस्तै उदार पनि।
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल

