बेरोजगारमै बस्यो भने भोकभोकै मरिन्छ नि //
सधैं यस्तै चाल भए फुटपाथमा नै झरिन्छ नि //
यता सोध्दा छैन छैन उता सुरु हुने कैले?
खोज्दा-खोज्दै पैसा सके गरिबी झन जरिन्छ नि //
मपनि क्यै गर्न सक्छु कसैले त चान्स देउ,
सानो ठुलो जस्तो भा'नि रमाई-रमाई छरिन्छ नि //
फलानो त हल्ली हिड्छ यस्तै हल्ला समाजको,
दिनौं यस्तै सुन्नु पर्दा नामर्द नै ठहरिन्छ नि //
आफ्नै पेट त भर्ना गाह्रो घरमा फेरी लालाबाला,
घरमा सधै स्त्री पिडित बचनले पेट भरिन्छ नि //
कर्ममा नै नभएसी कसको बाउको के लाग्छ र?
समाजको छि:छि: दुर दुर जिउदैमा मरिन्छ नि //
समाज मात्रै हैन अब घरबाटै बाहेक भा'छु,
निर्णय यै ठीक छ 'पवन' आँटे मास छरिन्छ नि //
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल

